फिल्म । काठमाडौँमा आयोजना गरिएको फिल्म ‘अग्निदहन’ प्रिमियरमा फिल्म हेरेका अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सामाजिक विकृति विसंगति र खासगरी बोक्सी प्रथा विरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको प्रतिक्रिया दिएका छन् ।
प्राप्त प्रतिक्रियाले उत्साहित भएका फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले चाँडै नै भारतसँग सीमाना जोडिएका तराईका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए ।
उनले ‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको दाबी गरे । घनश्याम लामिछाने निर्देशित फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।










