फिल्म । गत असार २८ गतेदेखि प्रदर्शनरत फिल्म ‘घरज्वाइँ’ ले दुई सातामा चार करोड ६३ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ । फिल्म निर्माण कम्पनि जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनले आधिकारिक रुपमै फिल्मको व्यापार बारे जानकारी दिएका छन् । पहिलोसाता तीन करोड ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता एक करोड ६३ लाखको व्यापार गरेको देखिन्छ ।
अनिल बुढा मगरको डेव्यु निर्देशनमा तयार भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । यसमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैँले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । फिल्ममा कृष्ण भन्डारीले सम्पादन गरेका छन् । फिल्मको नेपाल वितरक आरआर फिल्मस र डायस्पोरा वितरक एमएसएम इन्टरटेन्मेन्ट रहेको छ ।











