फिल्म । निर्माता तथा निर्देशक ऋषिराज आचार्यको निर्देशनमा तयार हुने छैठौँ फिल्म ‘दौप्रदी’ मा अडिसनमार्फत केही कलाकारले स्थान पाउने भएका छन् । निर्देशक आचार्यले फिल्मको नाम सार्वजनिक गर्दै आउँदो शनिवार माघ २० गते आरवी मुभिजको कार्यालयमा विहान ११ बजेदेखि ३ बजेसम्म हुने जानकारी दिए ।
‘हामीले प्रमुख भूमिकामै अडिसनमार्फत आएकालाई मौका दिदै छौँ । त्यसैले मैले सूचनामार्फत जानकारी गराएको छु’, निर्देशक आचार्यले भने,‘यो मेरो ड्रिम प्रोजेक्ट हो । अहिलेसम्मको अनुभवलाई यसमा प्रयोग गर्नेछु । यसको तयारी थालेको धेरै भईसकेको छ ।’
फिल्मको बारेमा आगामी दिनमा विस्तृतमा जानकारी गराउने बताएका निर्देशक आचार्यले ‘मिस्टेक’ फिल्ममार्फत निर्देशकमा डेब्यु गरेका थिए । त्यसयता उनले सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले, ड्रिम गर्ल, चुरीफुरी निर्देशन गरिसकेका छन् । उनी हाल नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय चलचित्र जाँच समितिका सदस्य समेत छन् ।










