फिल्म । विदेशी भूमिकामा नेपाली फिल्मको अवार्ड गर्न सहज छैन । नेपाली कला तथा संस्कृति झल्किने कार्यक्रममा पुग्ने व्यक्तिहरू समयमा फिर्ता नहुँदा दुतावासले भिसा दिनमै आनाकानी गर्ने गरेको खबर बेलाबखत आइरहेका छन् । संयुक्त राज्य अमेरिकामा नेपाल चलचित्र प्राविधिक संघले जुलाई २२ मा अवार्ड गर्ने भनि ठूलै हल्लाखल्ला गर्यो । तर, अब अवार्ड नै नहुने भएको छ । अमेरिकाको टेक्सासमा आयोजना हुने भनिएको नेफ्टा अवार्डमा नेपालबाट कलाकर्मी सहभागी गराएर कार्यक्रम गर्ने तयारीमा रहेको संघले भिसा भएका कलाकारलाई लगेर समेत अवार्ड गर्ने अवस्था भएन ।
नेफ्टाले यसअघि हङकङ र मध्यपूर्वमा अवार्ड गरेको थियो । दुवै देशमा भएका अवार्ड विवादरहित भने हुन सकेका थिएनन् । अघिल्लो शृंखला झैँ यसपटक पनि मनोनयन सार्वजनिक लगत्तै विवादमा परेको अवार्ड अन्ततः रद्द भएको हो । तर दुवै देशका आयोजकले अवार्ड हुन नसक्ने कुरा सार्वजनिक रुपमा बताएका छैनन् । आयोजकमध्येको एक आर्यन फिल्मस्ले विज्ञप्ति जारी गर्दै आफू अवार्ड आयोजनाबाट पछि हटेको जनाएको थियो ।
यही क्रममा उसले प्राविधिक संघका पदाधिकारीले अमेरिका लैजानेभन्दै असम्बन्धित मान्छेबाट पैसा उठाएको समेत आरोप लगाएको थियो । अमेरिकामा पनि केही व्यक्तिले उताका आयोजकलाई मानव तस्करीको प्रयास गरिरहेको आरोप लगाएका थिए ।
यसमा आयोजकले पहिला भिजा भएका कलाकार लगेर पनि अवार्ड आयोजना गर्ने तयारी गरेको थियो । तर आयोजक अन्तिम समयमा यो योजनाबाट पनि पछि हटेका छन् । यो विषयमा प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।












