फिल्म । काठमाडौंमा आयोजना गरिएको ‘वर्ल्ड प्रिमियर’ र चितवन र इटहरीमा आयोजना गरिएको ‘मोफसल प्रिमियर’ बाट वाहवाही बटुलिरहेको फ्यामिली ड्रामा ‘महापुरूष’ को शो खुलेको छ । कात्तिक ११ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको शो मल्टिप्लेक्सहरूले खोलेका छन् । फिल्मलाई प्राप्तले शोले उच्च ओप्निङ गर्ने अनुमान गरिएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ३ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ५ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा ४ शो, वुटवलमा ४ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ४ शो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।
काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ३ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ४ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ४ शो र बुटवलमा रहेको आइएनआइमा ४ शो दिएको छ ।
देशभर प्राप्त शो आफूहरू माथिको विश्वास रहेको निर्देशक प्रदीप भट्टराईले बताए । लेखक समेत रहेका निर्देशक भट्टराईले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । मनोरंजनसँगै दर्शकलाई राम्रो कथा पसकेका छौँ’, निर्देशक भट्टराईले भने । फिल्मको प्रिमियर मार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन्
एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।












