खेलकुद । घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेसीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा ब्राजिललाई उसैको भूमिमा हराएर उपाधि जित्नु अर्जेन्टिनाको लागि गौरवकै विषय रह्यो । मेसीले पनि अर्जेन्टिनाबाट खेल्न थालेको १६ वर्षपछी सिनियर टीमबाट उपाधि हात पारे । यसपटक प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा मेसी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता समेत बने ।
२८ वर्षपछि उपाधि जितेको अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसँग समेत बराबरी गरेको छ । साथै , मेसीले पनि आफ्नो नाममा केहि किर्तिमान बनाउन सफल भएका छन् । उनले कोपा अमेरिकाको इतिहासमा सर्वाधिक खेल्ने कीर्तिमान बराबरी गरे । ब्राजिलविरुद्ध फाइनल खेलेपछि मेस्सीले कोपामा सर्वाधिक ३४ खेल खेल्ने चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमानसँग बराबरी गरेका छन् । सन् २००७ देखि कोपा खेल्न थालेका मेस्सीले ६ संस्करण खेल्दै कीर्तिमान बराबरी गरेका हुन् । उनले २००७, २०११, २०१५, २०१६, २०१९ र २०२१ मा गरी कुल ३४ खेल खेले । जसमा २१ खेलमा जित हात पारे ।
यस्तै २०१५ र २०१६ को फाइनलको पेनाल्टी सुटआउट बाहेक जम्मा ३ खेलमा मात्र मेस्सी सम्मिलित अर्जेन्टिना पराजित भएको थियो । यसका साथै , मेसीले यसपटक ५ गोल गर्नका लागि सहयोग गरे । उनि गोल गर्न मात्र नभई गोलका लागि सहयोग गर्न समेत माहिर छन् । अर्जेन्टिनाले उपाधि जित्दा कुल १२ गोल गर्यो । त्यसमा मेस्सीले ४ गोल गरे भने ५ गोलका लागि सहयोग गरे । अर्जेन्टिनाले गरेको १२ गोलमध्ये ९ गोलमा मेसीको भूमिका रह्यो । यससंगै उनि एकै संस्करणमा सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत बने । यस्तै, उनले कोपामा ३४ खेल खेल्दा अहिलेसम्म १५ असिस्ट गरेका छन् जुन अर्को कीर्तिमान हो । उनीपछि रहेका अर्जेन्टिनाकै कार्लोस टेभेजले ६ असिस्ट गरेका छन् ।
मेसीले पहिलोपटक राष्ट्रिय सिनियर टोलिमा उपाधि उचाल्दै गर्दा उनले बनाएको किर्तिमानका कारण पनि फ्यानहरु उत्तिकै खुसि छन् । उनले राष्ट्रिय टिमका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि बनाए । कोपा अघि मेसीले राष्ट्रिय टिमबाट १ सय ४४ खेल खेलेका थिए । यस सिजनमा अर्जेन्टिनाका लागि ७ खेल खेल्दै उनले कुल १ सय ५१ खेल खेलेका छन् ।
यतिमात नभई उनि सर्वाधिक कोपा खेल्ने खेलाडी समेत बनेका छन् । उनले ६ पटक कोपा खेलिसकेका छन् । सन् २००७ मा कोपामा डेब्यु गरेका मेसीले त्यसयता लगातार ६ संस्करण खेलेका हुन् । सन् २०१५ र २०१६ मा उनकै नेतृत्वमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो । यसपटक भने उनैले अर्जेन्टिनालाई च्याम्पियन बनाए ।








