सिरिज । गतवर्ष सोनी लिभमा रिलिज भएको सिरिज मध्येको एक हो ‘स्क्याम : १९९२ : हर्षद मेहता स्टोरी’ । सिरिजले निकै राम्रो लोकप्रियता पायो । लकडाउन साथै शेयर मार्केटमा छिर्ने उदेश्यमा रहेका प्रायलाई यसले बजारको बास्तविकता देखायो । सिरिज आफैमा राम्रो थियो नै लकडाउनमा घर रहेर शेयर कारोबार गर्न चाहनेको लागि यो महत्वपूर्ण बन्यो । फलत यसले राम्रो सफलता पायो । पहिलो सिजन पश्चात यतिबेला यसको दोस्रो सिजनको पर्खाइमा दर्शकहरु छन् ।
यस सिरिजले आइएमडीबीमा सबैभन्दा धेरै रेटिङ पाउने वेब सिरिजमा आफुलाई अगाडी राखेको छ । यसले ९.५ रेटिङ पाएको छ । जुन अत्यधिक हो । हंसल मेहताले निर्देशन गरेको सिरिजले उस समयका प्रधानमन्त्री पीभी नरसिंह रावसमेत संलग्न भएको सेयर बजार घोटालाको कथा प्रस्तुत गर्छ । सत्यकथामा आधारित वेबसिरिज सुचेता दलालको पुस्तकमा आधारित छ । सिरिजमा प्रतिक गान्धीले मेहताको भूमिका निर्वाह गरेका छन् । उनले यस सिरिज मार्फत आफुलाई स्थापित गरेका छन् । यसमा श्रेया धन्वन्तरी , हेमन्त खेर , अन्जली बारोत , चिराग बोहरा लगायतको अभिनय रहेको छ ।
हर्षद शान्तीलाल मेहता, भारतीय धितोपत्र बजारमा सायदै यस्ता लगानीकर्ता होलान् जसले उसको नाम नसुनेको होस्। भारतीय शेयरबजारका मात्र होइन, विश्व शेयरबजारका लगानीकर्ताहरुमाझ मेहता प्रख्यात छन्। सेक्यूरिटिज स्क्याम १९९२ मा मुछिनुभन्दा अघि हर्षद मेहता दलाल स्ट्रीटका एक प्रख्यात नाम थियो । उनलाई अक्सर दलाल स्ट्रीटका ‘बिग बुल’ मानिन्थ्यो । चर्चित भएका कारण उनले भारतीय शेयर बजारका ‘अमिताभ बच्चन’ को उपनाम पनि पाएका थिए। सेक्यूरिटिज स्क्याम अफ १९९२ करिब ४ हजार करोडको मानिन्छ, जुन आजको समयमा हिसाब गर्ने हो भने २० हजार करोड हुन आउँछ। (एजेन्सी)










