फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जित अवस्थाले गर्दा फिल्म क्षेत्र पहिलेको लयमा फर्किन सकेको छैन । विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा सम्बन्धि मापदण्ड अपनाएर यतिबेला हल संचालन भइरहेका छन् । नेपालमा पौष १० गतेबाट फिल्म हल खुल्ने तयारी रहदा छिमेकी देश भारतमा केहि अगाडीबाटै खुलेको छ ।
यद्दपी हलमा दर्शकको संख्या भने न्यून छ । भारतमै केहि नयाँ फिल्म रिलिज गरीए पनि दर्शक नआएपछी यतिबेला कलाकारहरु समेत प्रचारप्रसारमा लागिरहेका छन् । ‘सेलिब्रेट सिनेमा’ थिम दिएर कलाकारहरुले समेत दर्शकलाई हलमै पुगेर सचेत र सुरक्षित रहेर फिल्म हेर्न आग्रह गरेका छन् । भारतमा सर्वाधिक कमाइ गरेको फिल्म मध्येको एक ‘वन्डर वुमन’ को सिक्वेल क्रिसमसमा रिलिज भएपछी कलाकारहरु समेत हलमा पुगेर फिल्म हेरिरहेका छन् ।
अभिनेता ऋतिक रोशनले फिल्म हलमै हेर्न आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत आफुले वन्डर वुमन १९८४ हलमै हेरेको जानकारी दिदै हलमा फिल्म हेर्न आग्रह गरेका हुन् । ऋतिक झैँ प्रभासले पनि क्रिसमसमा सिनेमा सेलिब्रेट गर्न आग्रह गरेका छन् । फिल्मलाई हलमै हेरेर आनन्द लिन उनले आग्रह गरेका छन् ।
हलिउडमा सुपरहिरो फिल्म बनाइरहेको डिसीले ‘वन्डर वुमन’ को नयाँ सिरिज १९८४ लाई भारतमा हिन्दीसँगै तेलुगु , तमिलमा पनि रिलिज गरेपछि दर्शकलाई हल सुरक्षित रहेको प्रत्याभूति गराउन ठुला कलाकारहरु आफै हल पुगिरहेका छन् । गल ग्याडटको सुपरहिरो अवतारलाई प्रतीक्षा गरिरहेका दर्शकले फिल्मलाई हलमै हेरे विस्तारै संख्या बढ्नेमा भारतीय कलाकारहरु विश्वस्त छन् । फिल्ममा सन् १९८४ को कथा र त्यसबेलाको परिस्थितिलाई देखाइएको छ । प्याटी जेन्किंसको निर्देशनमा तयार फिल्मको प्रतीक्षामा डिसी सिरिज मन पराउने दर्शक छन् । फिल्मलाई दर्शकले हलसँगै एचबिओ म्याक्समा पनि हेर्न पाउनेछन् ।










