‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

देश । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमिसक्नु भएका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुग्नु भएका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उहाँको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

पुस्तकमा सञ्चारविद् प्रा. पी. खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरुले आ–आफ्ना धारणा प्रकट गर्नुभएको छ । २०७६ वैशाख ४ गते ६० वर्षको अल्पायुमै दिवंगत हुनुभएका श्रेष्ठका बारेमा उहाँका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ, जो मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि पठनीय सन्दर्भ बनेको छ ।

पुष्करलालले ६० वर्षको उमेरपछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकास लिने र चारवटा किताब प्रकाशन गर्ने योजना बनाउनु भएको थियो । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल साउन २५ गते विमोचन गर्ने उहाँको योजना रहेको थियो । हरेक दिन डायरी लेख्ने उहाँसँग पुस्तकका लागि पर्याप्त सामग्री थिए । तर, उहाँसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुप¥यो । उहाँको सोही इच्छा पूरा गर्ने यो पहिलो प्रयास हो । उहाँ स्वयंले लेख्ने जीवन–कथा प्रकाशनको सपना उहाँको जीवनसँगै समाप्त भएको छ, तर बाँकी तीन विधामा उहाँले लेखेका आलेखहरु कामना समूहसँग अझै सुरक्षित छन् ।

कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य रु. १,२५० राखिएको छ भने पेपर ब्याकको पुस्तक रु. ७०० मा प्राप्त गर्न सकिन्छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’ हो ।

कमेन्ट गर्नुहोस्