देश । नेपाली कांग्रेस सर्लाहीले एक महिनाअघि कुटपीटबाट मारिएका आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, जाहेरी परेकाहरुलाई तत्काल पक्राउ गर्नुपर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउनु पर्ने लगायत माग राख्दै प्रदर्शन गरेको छ । कार्तिक २३ मा गरिएको प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ ।
प्रदर्शनसँगै आइतवार नै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई समेत ज्ञापन पत्र पठाउदै नेपाली कांग्रेसले आफ्नो मांग स्पष्ट पारेको नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ४ का प्रदेश सभा सांसद विरेन्द्र सिंहले बताए । ‘राज्यले अन्यायमा परेकालाई न्याय दिनु जरुरि छ’ उनले भने ,’राज्यलाई झक्झकाउन मात्र हामी अगाडी आएका हौँ ।’
कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए पश्चात शहीद चौकमा कोण सभा गर्दै सम्पन्न गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनमा कांग्रेस पार्टी जिल्ला उपसभापति सुरेन्द्र सिंह, पार्टीका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह र उपेन्द्र कुशवाहा तथा चार नम्बर क्षेत्रका क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह लगायतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता सहभागी थिए ।







