विदेश । रूसले बनाएको कोरोना भाइरस खोप ‘एकदमै प्रभावकारी’ रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरे पनि यसको तेस्रो चरणको क्लिनिक परीक्षण पुरा भइनसकेको खुलेकोछ । राष्ट्रपति पुटिनले मंगलबार कोरोना भाइरसविरुद्धको खोप अनुमोदन गर्ने रूस पहिलो मुलुक भएको घोषणा गरेका थिए । यद्दपी क्लिनिक परीक्षण पूरा नहुँदै औपचारिक घोषणा गरिएको यो खोपलाई लिएर विश्वनीयतामा प्रश्न उठेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि खोपको सुरक्षा र प्रभावकारिताका लागि परीक्षणको नियमित विधिबाट बाहिर नजान गत साता रूसलाई सचेत गराएको थियो। अमेरिका, बेलायत, चीन लगायत मुलुकहरू खोपको परीक्षण प्रक्रियामा निकै अघि बढिसकेका छन् । तर , ति सम्पूर्ण देशहरुलाई पछि पार्दै आफूले सबभन्दा अगाडि खोप ल्याएको दाबी गर्न मात्र राष्ट्रपति पुटिनले उक्त घोषणा गरेको विज्ञहरूको भनाइ छ । रूसले औपचारिक घोषणा गरेको कोरोना खोपको गुणस्तर र प्रभावकारिता पुष्टि गर्ने कुनै पनि रिपोर्ट अहिलेसम्म सार्वजनिक भएको छैन।
राष्ट्रपति पुटिनले आफ्नै छोरीले पनि लगाएको बताउने यो खोप निर्माण रूसको गामालेया इन्स्टिच्यूटले गरेको हो । बादरमा परिक्षण गरेर सुरु गरिएको खोपले राम्रो नतिजा दिएपनि तेस्रो चरण पार नगर्दा विश्वास गर्न नसकिने भनाइ विज्ञहरुको छ । क्लिनिक परीक्षणको चरणमा दसौं हजार व्यक्तिलाई निगरानीमा राखेर खोप लगाइन्छ र त्यसको नतिजा हेरिन्छ। अहिलेसम्म खोपको सुरक्षा र प्रभावकारिता निर्क्यौल गर्न यसलाई एक मात्र उत्तम विधि मानिएको छ। संसारभरि १६५ थरीका कोरोना खोप निर्माण क्रममा छन्। तीमध्ये ३० भन्दा बढी खोप विभिन्न चरणको मानवीय परीक्षणमा छ। (एजेन्सी)










