देश । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन् । ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।
आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन, एकै दिन र एकै तिथिमा परेको हुनाले बुद्ध जयन्ती भनेर मनाउने गरेको ओलीले स्मरण गरेका छन्। संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ।










