गसिप । एक वर्ष चुपचाप बसेकी वर्षा राउतले एक महिनाकै अन्तरालमा तीन फिल्म खेल्ने निर्णय गरेकी थिइन् । जसमध्ये ‘२ नम्बरी’ र ‘के घर के डेरा’को औपचारिक घोषणा नै भए पनि उनले खेल्ने भनेको ‘नाइँ नभन्नू ल ६’ ले औपचारिक रूपमा कास्ट सार्वजनिक गरेको छैन । तर, स्रोतअनुसार यस फिल्ममा पनि वर्षा खेल्ने कुरा लगभग तय छ ।
यसरी वर्षालाई तीन–तीनटा फिल्मको सेड्युल मिलाउन गाह्रो थियो । तर, ‘२ नम्बरी’ सुटिङमा गएपछि वर्षाको तनाव आधा कम भएको थियो । किनकि, ‘के घर के डेरा’मा वर्षासँगै दयाहाङ राई पनि थिए । ‘२ नम्बरी’ को सुटिङ सकिएपछि फुर्सदमा वर्षा ‘के घर के डेरा’ ज्वाइन गर्न सक्थिन् । तर, ‘२ नम्बरी’ ले सुटिङ बीचैमा रोकेपछि वर्षाको सेड्युल उथलपुथल भएको छ ।
दयाका कारण ‘२ नम्बरी’ र ‘के घर के डेरा’को सेड्युल त मिल्ला तर ‘नाइँ नभन्नू ल ६’ सँग मिल्न गाह्रो छ । किनकि, स्थिति सामान्य हुनेबित्तिकै ‘नाइँ नभन्नू ल ६’ सुटिङमा जानेछ । अरू केही नभए पनि कम्तीमा वर्षाले ‘के घर के डेरा’ र ‘नाइँ नभन्नू ल ६’ मध्ये एक छान्नुपर्नेछ । भएन त तनाव ? (सम्पूर्ण साप्ताहिकबाट साभार)










