‘जीवन रहरमै’ गीत सार्वजनिक

सङ्गीत । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल–सिक्किमबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ। गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएको छ।

मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो। संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा उपस्थित थिए।

गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, प्रा.डा. गोविन्दमान सिंह कार्की, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रमोद प्रधान, महाकाव्यकार खेमनाथ दाहाल, वरिष्ठ कलाकार उत्तम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

समारोहमा स्रष्टा शर्माले सानैदेखि गीत–संगीतप्रति आफ्नो लगाव रहेको उल्लेख गर्दै नेपालमा पाएको सम्मानले थप जिम्मेवारी महसुस भएको बताए। उनलाई काठमाडौंमा बुधबार सगरमाथा म्युजिक अवार्ड पनि प्रदान गरिएको थियो।

समापन मन्तव्य दिँदै सभापति लेकालीले नेपाल र सिक्किमबीचको साहित्यिक आदान–प्रदानको महत्त्व उजागर गर्दै यस्ता कार्यक्रमले सिर्जनशील सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

स्रष्टा जीवन शर्माका ४० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन् भने उनका केही उपन्यास पनि प्रकाशित छन्। कार्यक्रममा साहित्यकार विमल भौकाजी, वुमन्स ऐरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राई, निर्देशक माधवराज खरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, साहित्यकार राधा भण्डारी, रमेश दाहाल, गायक रमेश पाठक, टिका गोपाल फाउण्डेशनकी अध्यक्ष गीता सिंह, सौन्दर्यविद् टेकराज पाण्डे, वरिष्ठ पत्रकार तलसी गिरी ‘भावुक’, पत्रकार महासंघ काठमाडौंका सचिव रमेश बोहरा लगायत साहित्यिक, सांगीतिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्