सङ्गीत । गायिका तथा अभिनेत्री सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छन्। सारिकाकै शब्द, संगीत र स्वर रहेको गीतमा मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतको भिडियो केशवराज भट्टको निर्देशनमा तयार भएको हो भने छायांकन करण चैसिर र सम्पादन मनोज कार्कीले गरेका छन् ।
प्रेमविछोडको पीडा समेटिएको गीतको भिडियोमा सारिका घिमिरेसँगै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। सारिकाले यसअघिको चर्चित गीतजस्तै ‘गुन भुल्यौ २ साइला दाइ’ले पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरेकी छन्। गीतमा आफूले माया गरेको र गुन लगाएको व्यक्तिले बिस्तारै बिर्सिँदै जाँदा हुने पीडालाई प्रस्तुत गरिएको छ।
डेढ दशकदेखि गायन, मोडलिङ, अभिनय र सिर्जनामा सक्रिय सारिकाको यस गीतका अंशहरू टिकटक र रिल्समा पनि लोकप्रिय बन्न थालेका छन्। गीतको भिडियो सारिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नेपाली फिल्म क्षेत्रमा अभिनयबाट पहिचान बनाएकी सारिका पछिल्लो समय गायिकाका रूपमा पनि स्थापित हुँदै गएकी छन्। एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी उनी तीन दर्जनभन्दा बढी गीतका भिडियोमा पनि देखिएकी छन्। उनका केही गीतहरू करोडौं भ्यूज प्राप्त गर्दै लोकप्रियता हासिल गर्न सफल भएका छन्।










