‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो निफ

फिल्म । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । चैत २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन इरानी निर्देशक हिशाम फराहमन्दको फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै गरिएको हो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, पाकिस्तानका राजदूत अब्रार एच हास्मी, श्रीलंकाका राजदूत रुवन्थी डेलपिटिया, फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा भारतीय निर्देशक एवं निर्माता रमेश सिप्पी विशेष अतिथिका रूपमा सहभागी थिए ।

त्यस्तै, नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायत फिल्मकर्मी पनि कार्यक्रममा उपस्थित थिए। प्रमुख अतिथि बस्नेतले निफले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार र अन्य देशका फिल्म उद्योगसँग सहकार्य बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

ब्राजिलका राजदूत हार्टोगले निफको सफलताको कामना गर्दै आफ्नो देशबाट छनोट भएका फिल्महरूको कथावस्तुबारे चर्चा गरे। पाकिस्तानी राजदूत हास्मीले पनि महोत्सवको सफलताको शुभकामना दिँदै आफू तेस्रो पटक निफमा सहभागी भएको बताए । बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पीले वर्तमान एआई युगमा फिल्म महोत्सवहरूको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

निफका अध्यक्ष केपी पाठकले कार्यक्रममा उपस्थित अतिथि, फिल्मकर्मी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे । यस वर्षको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछन्। साथै, ६ चिनियाँ र ४ रुसी फिल्म प्रतिस्पर्धाबाहिर विशेष प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

रसियन हाउसमा ‘रुसियन फिल्म डेज’ आयोजना गरिनेछ, जहाँ प्रदर्शन हुने फिल्महरू निःशुल्क हेर्न सकिनेछ। यसैगरी, ‘सिजाङ प्यानोरमा’ अन्तर्गत ६ चिनियाँ फिल्म तथा वृत्तचित्र प्रदर्शन गरिनेछन्, जुन पर्यटन बोर्ड र छायाँ सेन्टरमा निःशुल्क देखाइनेछ।

प्रतिस्पर्धामा रहेका फिल्महरू भने सिभिल मल र छायाँ सेन्टरमा सशुल्क प्रदर्शन हुनेछन्। महोत्सव अन्तर्गत १० वटा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिनेछन्, जसमा विभिन्न देशका फिल्ममेकरहरूले आफ्नो अनुभव साझा गर्नेछन्।

कमेन्ट गर्नुहोस्