दर्शकले रुचाए ‘धागोले बाटेको’ गीत

फिल्म । नेपाली फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक भएको १३ दिनमै दर्शकमाझ लोकप्रिय बनेको छ । युट्युब र सामाजिक सञ्जालमा गीतले राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। निर्वाचनको समयमा देशभरको ध्यान मतदान र मतपरिणामतर्फ केन्द्रित भए पनि गीतको लोकप्रियता भने निरन्तर बढिरहेको छ ।

सार्वजनिक भएको दुई साता नपुग्दै युट्युबमा गीतको भ्यु २१ लाख नाघिसकेको छ। दर्शकले यस गीतमा एक लाखभन्दा बढी टिकटक भिडियो पनि बनाइसकेका छन्, जसले फिल्मको प्रचारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने शब्द डा. डीआर उपाध्यायको रहेको छ। संगीत बाबुल गिरीले दिएका हुन्। रोमान्टिक शैलीको गीतमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ। भिडियोमा उनीहरू रोमान्टिक शैलीमा प्रस्तुत भएका छन्।

गीतले दर्शकको मन जितेपछि निर्देशक माइकल चन्द उत्साहित देखिएका छन्। उनले निर्वाचनको समयमै गीत सार्वजनिक गर्दा धेरैले समय उपयुक्त नभएको टिप्पणी गरे पनि आफूहरू गीत सफल हुनेमा विश्वस्त रहेको बताए। अहिले गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको उनको भनाइ छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने मोती कार्की क्रियटिभ प्रोड्युसरका रूपमा रहेका छन्।

फिल्मका लाइन प्रोड्युसर राजेन्द्र आचार्य हुन्। बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीले फिल्ममा संगीत दिएका छन्। माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, बन्दे प्रसाद सम्पादक तथा काला चरणले पाश्र्वसंगीत दिएका छन्।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन तथा साहिल खानको टिजर र ट्रेलर रहेको छ। स्क्रिप्ट सल्लाहकारमा अभिमन्यु निरवी र समय थपलिया छन्।

‘पर्दा पछाडिको पर्दा’ भन्ने थिममा निर्माण भएको फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापालगायत कलाकारको अभिनय रहेको छ। एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित फिल्म चैत २७ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

कमेन्ट गर्नुहोस्