देश । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका छन् । सिराहा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत गोलबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले निर्वाचनपछि कार्यान्वयनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गरिने बताए ।
‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ। वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ । प्रत्येक महिनामा कामको समीक्षा हुन्छ र नागरिकलाई पनि मूल्यांकन प्रक्रियामा सहभागी गराइन्छ ।’
सभापति थापाले प्रत्येक महिनाको पहिलो दिन सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने दाबी गर्दै यस्तो सरकार निर्माण गर्न सम्भव रहेको बताए । ‘यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता आवश्यक छ,’ उनले भने।
उनले उखान टुक्का र भत्काउने राजनीति मात्र पर्याप्त नहुने उल्लेख गर्दै सबैलाई मिलाएर अघि बढाउने क्षमता नेपाली कांग्रेससँग रहेको दाबी गरे । ‘कांग्रेसका उम्मेदवारले जिल्लामा गरेका वाचा पूरा हुने जिम्मेवारी म लिन्छु,’ उनले भने, ‘पहिले जनताले जिताएर पठाउनुपर्छ।’
सभापति थापाले देशभरका आमाको अनुहारमा मुस्कान ल्याउने, युवालाई भरोसा दिने र नेपाली हुनुको गर्व जगाउने सपना बोकेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ आवश्यक रहेको बताए। उनले युवाका लागि जोखिम मोलेर पार्टीको सभापति बनेको दाबी पनि गरे ।










