सङ्गीत । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा ‘स्माइल’ को संगीत तथा राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
निकेश खडकाको निर्देशनमा तयार भएको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाल फिचरिङ छन् । भिडियोमा गायक रामकृष्ण ढकाल र गायिका सुशीला बस्नेत तिमिल्सिनालाई पनि देख्न सकिन्छ ।
सुदीप दाहालको पोस्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास धमलाको सम्पादन रहेको छ । गीतको शब्द रचना जति सशक्त छ, भिडियो पनि त्यत्तिकै प्रभावशाली बनेको छ ।
प्रेमिल भावको यस गीतमा आफूले मन पराएको व्यक्तिसँग सधैँ सँगै रहँदा मन रमाउने अनुभूति व्यक्त गरिएको छ । शब्द, स्वर, संगीत र उत्कृष्ट भिडियो छायांकनका कारण गीत सार्वजनिक भएसँगै धेरै श्रोतादर्शकको मन जित्न सफल भएको छ ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला बस्नेत तिमिल्सिना नेपाल बाहिर रहे पनि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि सुशीला बस्नेतका ‘राधा कृष्ण’, ‘तिम्रो मायाको’, ‘मेरी माँ’ र ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू श्रोतादर्शकमाझ निकै रुचाइएका छन् ।










