‘आ बाट आमा’ टिम पूर्वका हल भिजिटमा

फिल्म । गएको शुक्रबार माघ १६ गतेदेखि प्रदर्शन भएको फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वी नेपालका दर्शकसँग प्रत्यक्ष भेटघाटका लागि हल भिजिटमा निस्किएका छन् । मंगलबार बिहानैदेखि कलाकार टिम इटहरी, धरान, विराटनगर, दमक तथा बिर्तामोडका हल भिजिट गरिरहेको छ ।

फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार मुख्य कलाकार पल शाह, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त र साइग्रेस पोखरेलसहितको टिम पूर्वका हलमा पुगेर दर्शकसँग भेट्नेछ । हलमा उपस्थित दर्शकसँग भेटघाट गर्दै उनीहरूको प्रतिक्रिया लिने कार्यक्रमसमेत रहेको निर्देशक पन्तले जानकारी दिए ।

शुक्रबारबाट प्रदर्शनमा आएसँगै फिल्मका कलाकार पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत अन्य कलाकार विभिन्न हलमा पुगेर दर्शकसँग भेटिरहेका छन्। दर्शकबाट फिल्मप्रति सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण टिमको भनाइ छ।

अभिमन्यु निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको यस फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। फिल्मका गीतका भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ।

नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले तयार पारेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गरिरहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

कमेन्ट गर्नुहोस्