‘द ब्लफ’ आक्रामक प्रियंका (भिडिओ)

फिल्म । ग्लोबल आइकन प्रियंका चोपडाको आगामी फिल्म ‘द ब्लफ’ रिलिजका लागि तयार भएको छ । सन् २०२४ मै छायांकन सम्पन्न गरिएको यस फिल्मबाट दुई वर्षपछि प्रियंकाको पहिलो लुकसँगै ट्रेलर सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतीक्षामा रहेको ‘द ब्लफ’मा प्रियंका चोपडा दमदार एक्सन अवतारमा देखिनेछिन् ।

प्रियंकाको आक्रामक र सशक्त अवतारलाई प्रस्तुत गर्छ । प्रियंकाको पात्रले आफ्नो छोरीलाई जोगाउन ज्यानको बाजी लगाएको ट्रेलरमा देख्न सकिन्छ । उनका एक्सन दृश्यहरू ट्रेलरमा देखिन्छ । फिल्ममा प्रियंकाले ‘ब्लडी मेरी’ नामले चिनिने पूर्व समुद्री डाकुको भूमिका निभाएकी छन् । कठोर र रफ लुकमा देखिएकी प्रियंकाको विगत फेरि सतहमा आउँछ, जसले उनलाई आफूले छाडिसकेको ठानेको जीवनसँग पुनः सामना गर्न बाध्य बनाउँछ । उनको अभिनयमा आक्रामकता, पीडा र मातृत्वको गहिरो भाव एकसाथ देखिन्छ ।

रुसो ब्रदर्सद्वारा निर्माण गरिएको ‘द ब्लफ’को निर्देशन फ्र्याङ्क ई. फ्लावर्सले गरेका हुन् । प्रियंका चोपडा स्वयं पनि फिल्मकी सह निर्माता हुन् । ‘द ब्लफ’ सिनेमाघरमा नभई सिधै ओटीटी प्लेटफर्ममार्फत रिलिज हुने भएको छ । फिल्म अमेजन प्राइम भिडियोमा आगामी फेब्रुअरी २५ मा सार्वजनिक गरिनेछ ।

‘द ब्लफ’सँगै प्रियंका चोपडा निर्देशक एस.एस. राजामौलीको आगामी फिल्म ‘वाराणसी’ मा पनि अभिनय गरिरहेकी छन् । सो फिल्ममा पनि उनी एक्सन अवतारमै देखिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्