फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म हेरेका अधिकांश दर्शकले यसको कथावस्तु र सन्देशको खुलेर प्रशंसा गरेका छन् । यसै क्रममा, नेपाल प्रिमियर लिग (NPL) सिजन २ को टी-२० क्रिकेट टुर्नामेन्टमा व्यस्त रहेको पोखरा एभेन्जर्स टिमले शनिबार साँझ प्रदर्शनरत फिल्म ‘हर्ष’ हेरेको छ ।
फिल्म हेरेर हलबाट निस्कँदै गर्दा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले गेमको प्रेसरका बीच यो फिल्मले थोरै भएपनि ‘रिफ्रेसमेन्ट’ को अनुभूति दिलाएको बताए । कप्तान भुर्तेलले भने, ‘निर्देशक एकता पौडेल जीले एउटा सुन्दर कथावस्तुमाथि फिल्म निर्माण गर्नुभएको रहेछ । हाम्रो टिमले आज हेर्यौं, असाध्यै मन पर्यो । यत्तिको फिल्म सबैजनाले एक पटक हलमा नै पुगेर हेर्नुपर्छ जस्तो लाग्छ ।’
उनले फिल्मका मुख्य कलाकारहरूको कामको पनि खुलेर तारिफ गरेका थिए । फिल्मको निर्माण टिमले अभिनेत्री वर्षा राउत र बाल कलाकार साइमन वादीलाई लिएर काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगी दर्शकसँग साक्षात्कार गरेको थियो । दर्शकको माया देखेर हर्षित महसुस भएको अभिनेत्री वर्षाले बताइन् ।
फिल्ममा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
एकता पौडेलको कथा तथा निर्देशन रहेको फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको हो । फिल्ममा आलोक शुक्लाको छायाङ्कन, समीर, हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।









