फिल्म । आगामी कात्तिक २१ गते शुक्रबारबाट प्रदर्शनमा हुने फिल्म ‘मन बिनाको धन’ले पहिलो दिन ९५ शो पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको यो फिल्मलाई अब सबै उमेर समूहका दर्शकले सहजै हेर्न पाउनेछन् । सुरुआती समयमा प्रदर्शकले शो नदिएको गुनासो फिल्मका निर्देशक टंक बुढाथोकीले गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत नै प्रदर्शकसँगको दुखेसो सार्वजनिक गरेका थिए ।
यद्यपि, फिल्मको ट्रेलर र सकारात्मक सामग्रीका कारण विस्तारै शो सङ्ख्या बढिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने,‘हाम्रो फिल्मको लोकप्रियतालाई सामाजिक सञ्जाल र यसका प्रदर्शन सामग्रीमार्फत पनि आकलन गर्न सकिन्छ । फिल्मले पहिलो दिन नेपालभर ९५ बढी शो पाएको छ । पहिलो दिनको प्रतिक्रियासँगै दोस्रो दिन शो सङ्ख्या अझै बढ्ने छ ।’
उनले फिल्मका कलाकार अशोक दर्जी, निर्देशक बुढाथोकी लगायतको टिमले शुक्रबार र शनिवार काठमाडौँ उपत्यकाको हल भ्रमण गरेर दर्शकसँग प्रतिक्रिया लिने पनि जानकारी दिए । फिल्ममा बाल अभिनेता तथा गायक अशोक दर्जी मुख्य भूमिकामा छन् भने सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
बाटोमा गीत गाउँदै माग्दै हिँड्ने अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीतमार्फत उनको जीवन परिवर्तन गरिदिएका थिए । हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत अशोकको परिधिमा बनेको यो फिल्मले सामाजिक विषयवस्तु प्रस्तुत गरेको छ ।टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्मको कथा बुढाथोकीकै रहेको छ भने पटकथा तथा संवाद शिवम अधिकारीको हो ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनाली निर्माता छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्माता छन् । टिकाराम बुढाथोकी क्रिएटिभ निर्देशकको भूमिकामा छन् । फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ । एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले फिल्मको वितरण गर्दैछन् ।









