मेरो आत्मसम्मान र देशप्रेम कसैले खरानी बनाउन सक्दैन : कोमल वली

सङ्गीत । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र देशप्रतिको माया कसैले खरानी बनाउन नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि खरानी बनाउनेहरूलाई कहिल्यै भलो नहुने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्ना भावना व्यक्त गर्दै उनले जेनजी आन्दोलनमा शहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

‘आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा मेरो छाती चिरिएको छ, त्यो पीडा बोकेर बाँचिरहेकी छु’, उनले लेखेकी छन् । वलीले आफ्नो तुलसीपुरस्थित कोमल होटलको सन्दर्भ उठाउँदै भनिन्, ‘गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र समृद्धिको बाटोमा सँगसँगै अघि बढाउने सपना थियो । यो होटल मेरो मात्र नभई गाउँको रगत-पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो ।’

उनले आफ्नो जीवनबारे स्पष्ट पार्दै भनिन्, ‘म हुँदाखाने परिवारकी सामान्य तर इमानदार व्यक्ति हुँ । बाल्यकालदेखि खेलाडी र गायिकाको रूपमा प्रतिभा देखाएँ । गीत गाएर छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र अध्ययनलाई निरन्तरता दिएँ । रेडियो नेपालमा १८ वर्ष सेवा गरेँ, समाचार वाचनमा आदर्श बनेँ । मेरो स्वरमार्फत देश-विदेशमा नेपाल चिनाएँ । २०७४ मा राष्ट्रिय सभामा सांसद निर्वाचित भएर चार वर्षसम्म सकेसम्म सबैको सेवा गरेँ । मेरो जीवन इमान र निष्ठामा अडिएको छ, मैले कहिल्यै भ्रष्टाचार गरिनँ ।’

वलीले आफ्नो होटल पाँचतारे होटलहरूसँग प्रतिस्पर्धा गर्न नभई प्राकृतिक सौन्दर्य र सामाजिक सेवाका लागि खोलिएको बताउँदै त्यसलाई नष्ट गर्ने कार्यले आफूलाई गहिरो चोट पुगेको उल्लेख गरेकी छन् ।

कमेन्ट गर्नुहोस्