कैलाश पर्वतको काखमा ‘जय जय शङ्कर’

सङ्गीत । गायक सुगम पोखरेलको स्वरमा सजिएको भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक फ़रिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई फिल्म हलमा यो गीतको लोकार्पण गरिएको हो ।

यस गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः सङ्गीत संयोजन गरेका छन् । गीतमा थप शब्द विजय अधिकारीले रचना गरेका छन् । गीतको म्युजिक भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकास्थित लाप्चामा ५,१०० मिटरको उचाइमा छायांकन गरिएको छ। यो स्थानबाट कैलाश पर्वत र मानसरोवर ताल प्रत्यक्ष देखिन्छ, जसले धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गर्छ ।

निर्माण पक्षले विश्वमै पहिलोपटक यस्तो दुर्गम क्षेत्रमा म्युजिक भिडियो छायांकन भएको दाबी गरेको छ । भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय छ भने निर्देशन विजय अधिकारीले गरेका छन् । कोरियोग्राफी किरण थापाले गरेका छन् भने हरि हुमागाईँको छायांकन निर्देशन र भरत रेग्मीको सम्पादन रहेको छ ।

निर्माण पक्षले यो म्युजिक भिडियोले विश्वभर नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश प्रवाह गर्दै पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्