‘बुद्धको देश नेपाल’ गीतको भिडियो विमोचन

साहित्य । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’को भिडियो आइतबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार तथा हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरी विमोचन गरिएको हो ।

मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको सहजीकरणमा भएको कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा तयार यो गीत दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको छ । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक र प्रकाश मिश्रको संगीत सम्पादनमा अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाल फिचर छन् ।

राजन खरेलको छायांकन र दृश्य सम्पादन रहेको यो भिडियो कक्ष कलिउड हवमा सम्पादन गरिएको छ । गीत सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृष्ण भुसालले संगीतकार श्रेष्ठले साहित्य र संगीतको संयोजनमा पृथक कार्य गरेको बताए । श्रेष्ठले ‘श्वेतपत्र’का श्लोकलाई गीतमा ढाल्न मिहिनेत गरेको र गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजल स्वर्ण दशक कार्यक्रम गर्दै अन्य गीत पनि ल्याउने तयारीमा रहेको जानकारी दिए ।

महाकाव्यकार दाहालले ‘श्वेतपत्र’को चर्चा गर्दै यसले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी-बहिनीको संवादमार्फत प्रस्तुत गरेको र कतिपय ठाउँमा प्रशंसा र कतिपयमा आलोचना खेप्नुपरेको अनुभव सुनाए । वरिष्ठ संगीतकार राजु सिंहले साहित्य र संगीतको संयोजनलाई प्रशंसनीय भन्दै स्रष्टाहरूलाई बधाई दिए ।

साहित्यकार डा. अम्बिका अर्यालले ‘श्वेतपत्र’ले गहन सन्देश बोकेको र यसको थप चर्चा आवश्यक रहेको बताइन् । प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले दाहालका अन्य कृतिमध्ये ‘श्वेतपत्र’ अब्बल रहेको उल्लेख गरे ।

प्रमुख अतिथि प्रा.डा. कोइरालाले ‘श्वेतपत्र’ र ‘अहोरात्र’लाई दाहालका विशेष कृति भन्दै महाकाव्य लेखनको नियमअनुरूप ‘श्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गरे ।सभापति पुरुषोत्तम दाहालले खेमनाथसँगको पुरानो सम्बन्ध र उनको साहित्यिक योगदानको प्रशंसा गर्दै गीत र भिडियोको सफलताका लागि शुभकामना दिए । कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा. बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, समाजसेवी भुपेन्द्र कार्की, डा. अंकुर दाहाल, गीतकार गीता अधिकारीलगायतको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्