‘मोहर’ प्रचारमा गर्न देश दौडाहामा पल

फिल्म । आगामी साउन २३ गतेबाट रिलिज हुने फिल्म ‘मोहर’को प्रचारमा नायक पल शाह देश दौडाहामा छन् । हालै चितवन पुगेका उनले त्यहाँका विभिन्न कार्यक्रममा सहभागिता जनाए । चितवनको म्याङ्गो हल र पर्सामा आयोजित कार्यक्रममा उनले दर्शकसँग साक्षात्कार गरे। फिल्मको गीतमा पल र दर्शकले सँगै नृत्य गरेका थिए । चितवनमा नायक शाह र गायक थानेश्वर गौतमले दर्शकलाई फिल्म हेर्न आग्रह गरे ।

दर्शकले फिल्मको ट्रेलर र गीत–संगीतले प्रभावित भएको भन्दै ‘मोहर’प्रति उत्साहित भएको प्रतिक्रिया दिए । पलले चितवनका दर्शकसँग ‘मोहर सफलताको केक’ काटेका थिए । आज उनले पोखरामा आयोजित कार्यक्रममा दर्शकसँग भेटघाट गर्दैछन्, जहाँ पनि गीतमा सँगै नृत्य गर्ने योजना छ।फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्मित यो फिल्मको लेखन र निर्देशन ओम प्रतिकले गरेका छन् ।

निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा र रवीन्द्र झालगायतका कलाकारको अभिनय छ । देउकी प्रथामा आधारित यो फिल्मलाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ प्रदान गरेको छ । यसअनुसार १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा फिल्म हेर्नुपर्नेछ । फिल्मको प्रचार सामग्रीले दर्शकको माया पाइरहेकाले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्