सङ्गीत । गायिका सरिता भारतीले गण्डकी प्रदेशको रत्यौली भाकामा आधारित नयाँ तीज गीत ‘नाच्न दे…’ को भिडियो सार्वजनिक गरेकी छन् । बिहीबार बेलुका सार्वजनिक भएको यो गीतको लय र शब्द सरिता आफैंले संकलन र रचना गरेकी हुन् । दुई दर्जनभन्दा बढी गीत गाइसकेकी सरिताको यो दोस्रो तीज गीत हो ।
यसअघि पाँच वर्षअघि उनले ‘रातो सारी लरक्कै…’ गीत ल्याएकी थिइन् । गण्डकी क्षेत्रमा प्रचलित रत्यौली भाकालाई संकलन गरी तीजको अवसरमा यो मौलिक गीत ल्याएको सरिताले बताइन् । गीतको सङ्गीत सृजना र सङ्गीत संयोजन ओम सुनारले गरेका छन् । यसअघि ओम र सरिताले सुदूरपश्चिमेली लोक भाकाको ‘छोड सताउन’ गीतमा सँगै काम गरेका थिए ।
‘नाच्न दे…’ को रेकर्डिङ जुगल डंगोलले र मिक्सिङ तथा मास्टरिङ नरेश बिबिसीले गरेका छन् । गीतको भिडियोमा सरिता स्वयंले शीर्ष भूमिका निर्वाह गरेकी छन् । सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत र अविरा रिसालसहितका कलाकारहरूको अभिनय रहेको छ । मच्छेगाउँको आश्रय होमस्टेमा छायांकन गरिएको भिडियोको छायांकन र सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् ।
एसबी क्रियसनको ब्यानरमा निर्मित यो गीतको भिडियो ‘एसबी क्रियसन नेपाल’ युट्युब च्यानलबाट रिलिज भएको छ । भिडियोको निर्देशन र कोरियोग्राफी कृष्ण रसालले गरेका छन्, जो सरितासँग यसअघि दुई गीतमा काम गरिसकेका छन् । नृत्यप्रधान यो भिडियो तीजको रौनकलाई झल्काउने खालको छ ।








