‘मुनामदनको ब्रेकअप’ घोषणा

फिल्म । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा गरिएको छ । पत्रकारिता पृष्ठभूमिबाट आएका दीपेन्द्र लामाको निर्देशनमा बन्ने यस फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । यो त्रयको सहकार्य २०७५ सालको फिल्म ‘गोपी’ पछि फेरि हुन लागेको हो । ‘गोपी’ मा पनि लामाले निर्देशन, तिमल्सेनाले पटकथा र पौडेलले कार्यकारी निर्माणको भूमिका निभाएका थिए ।

हालसम्म फिल्ममा अभिनेता राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’ मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ। लामाले भने,‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ ।’

निर्देशक लामाले आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’ देखि ‘दुखी आत्मा’ सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका छन् । उनी ‘मुनामदनको ब्रेकअप’ लाई एक मनोरञ्जक फिल्मका रूपमा तयार पार्ने सोचमा छन् । फिल्मका लेखक तिमल्सेनाले यसमा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने बताए । ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ’, तिमल्सेनाले थपे, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौं ।’

अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’ लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । कार्यकारी निर्माता पौडेलले फिल्मको छायांकन कास्कीको ग्रामीण भेगमा गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्