फिल्म । नेपाली फिल्म ‘मिरमिरे’को छायांकन शनिबारबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै सुरु भएको छ । एक हप्ताको वर्कसपपछि निर्माण टोली शुक्रबार काठमाडौंबाट छायांकनका लागि निस्किएको निर्देशक यम शेर्पाले जानकारी दिए ।
उनका अनुसार ३५ दिन काभ्रेका विभिन्न स्थानमा छायांकन गरिनेछ । यार्सा फिल्म्सको प्रस्तुतिमा बन्ने यो फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ र भोलाराज सापकोटा छन्। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
प्रकाश र दयाहाङको यो पहिलो सहकार्य हो भने निर्देशक शेर्पाले दयाहाङसँग दोस्रोपटक काम गर्दैछन् । यसअघि उनको पहिलो फिल्म ‘कार्साङ’मा पनि दयाहाङले अभिनय गरेका थिए । फिल्मको कथा यम शेर्पाले लेखेका हुन्।
छायांकन आलोक शुक्लाले गरिरहेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्माता गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । कार्यकारी निर्माता रोहित कट्टेल छन् । सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।‘मिरमिरे’ २०८२ मा प्रदर्शन हुनेछ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।