सौन्दर्य । राजधानीमा सम्पन्न एक भव्य सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले ‘द मिसेस नेशनल ग्राण्ड २०२५’ को ताज चुमेकी छन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित यो रोचक प्रतियोगितामा लक्ष्मीले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रमुख उपाधि हासिल गरेकी हुन् । उनले यसका साथै ‘मोस्ट फोटोजेनिक’ को उपउपाधि पनि आफ्नो नाममा लेखाउन सफल भइन् ।
रानी खरेलको कोरियोग्राफीमा सम्पन्न ‘द मिसेस नेशनल’ को तेस्रो संस्करणमा जुनु कार्कीले ‘द मिसेस नेशनल प्लाटिना’ को ताज जितिन् भने उनले ‘मोस्ट ट्यालेन्टेड’ र ‘मोस्ट पपुलर’ उपउपाधि पनि प्राप्त गरिन् । त्यसैगरी, अनिता खड्का ‘द मिसेस नेशनल क्लासिक’ को विजेता बनिन् र उनले ‘मोस्ट इन्टेलिजेन्ट’ तथा ‘भ्युअर्स चोइस’ उपउपाधि पनि हासिल गरिन् ।
विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूका साथ अघि बढेको यस प्रतियोगितामा अन्य धेरै उपउपाधिहरू पनि वितरण गरिए । तीमध्ये सरिता वाइवा मोस्ट ग्रेसफुल, रोशनी झा मोस्ट एलिगेन्ट, सरिता खड्का बेस्ट वाक, रीता गामी टाइमलेस ब्युटी, लक्ष्मी सुवाल मोस्ट कन्फिडेन्ट, नीलम श्रेष्ठ बेस्ट स्माइल, श्वेता भुसाल मोस्ट एक्टिभ, सरस्वती रावत बेस्ट फिगर, विजया श्रेष्ठ मोस्ट फ्रेन्डली, राधिका सिलवाल मोस्ट डिसिप्लिन, सिर्जना विष्ट मोस्ट करिस्म्याटिक, रोजी कायस्थ बेस्ट लिडरसिप, अस्मिता बजगाईं मोस्ट क्रिएटिभ, सविता परियार मोस्ट स्टाइलिश, रीना कुशवाहा मोस्ट इन्स्पाइरिङ, बुनु विष्ट बेस्ट पर्सनालिटी र आरती महतो मिसेस फ्यासनिस्टा उपउपाधि विजेता भए ।
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न यस प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री गौरी मल्ल थिइन् । निर्णायक मण्डलमा फिल्म निर्देशक तथा अभिनेता मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह पनि रहेका थिए ।
प्रतियोगिताको आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरूलाई घरको चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरूमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले ‘द मिसेस नेशनल’ को आयोजना गर्दै आएको बताए ।










