विदेशीने नेपालीको कथामा ‘रियाल रिङ्गेट’

फिल्म । आगामी साउन १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ मङ्गलबार काठमाडौँमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भएको छ । रेबेल फिल्म्सद्वारा निर्मित यो गीतले वैदेशिक रोजगारीमा गएका नेपालीको मार्मिक कथालाई चित्रण गरेको छ ।

रबि मल्ल र कोसिस क्षेत्रीको रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरको सङ्गीत रहेको गीतमा केतन क्षेत्रीको स्वर र किरण तुलाधरको सङ्गीत संयोजन छ । गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, परिवारको विचलन र बाध्यताले विदेसिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गर्छ ।

कार्यक्रममा कवि नाथन रायनले कविता वाचन गरे, जसमा प्रवासी नेपालीको भावना समेटिएको छ। उनको कविताको पङ्क्ति ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’ ले फिल्मको मर्मलाई सशक्त रूपमा उजागर गर्छ । गायक केतन क्षेत्रीले गीतको प्रत्यक्ष प्रस्तुतिमा दर्शकलाई मन्त्रमुग्ध बनाए ।

निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा भएको बताउँदै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषयलाई उजागर गर्न यो फिल्म बनाएको बताए । दुई दशकदेखि रेबेल क्रियशन सञ्चालन गर्दै आएका प्रधानले २०३९ मा ‘अभिलाषा’ भिडियो फिल्म बनाएका थिए र दर्जनौँ कलाकारलाई स्थापित गरेका छन् ।

अभिनेत्री नीता ढुङ्गानाले लामो मिहिनेतपछि फिल्म रिलिजको तयारीमा पुगेकोमा खुसी व्यक्त गरिन्। अभिनेता प्रमोद चौलागाईंले सोचविचार गरेर यो फिल्ममा काम गरेको बताए । फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतको अभिनय छ। प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको नाम कतार र साउदीको ‘रियाल’ र मलेसियाको ‘रिङ्गेट’ मुद्राबाट प्रेरित छ, जसले नेपाली श्रमिकका गन्तव्य मुलुकलाई सङ्केत गर्छ ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको पाश्र्व सङ्गीत र राजीव समरको कोरियोग्राफी छ । गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर, चन्दन ध्वज केसीको सङ्गीत र सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्लेको स्वर छ । गीतका शब्द अमर न्यौपाने, रबि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्