‘शुभ विवाह’मा प्रदीपसँग सुदर्शनको दोस्रो सहकार्य

फिल्म । निर्देशक सुदर्शन थापाले अभिनेता प्रदीप खड्कालाई लिएर नयाँ फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दा मुख्य अभिनेताको रूपमा प्रदीप खड्काको नाम उल्लेख गरिएको छ । दशक अघि ‘प्रेमगीत’ मा सफल सहकार्य गरेका थापा र खड्का ‘शुभ विवाह’ मार्फत दोस्रो पटक एकसाथ काम गर्दैछन् । निर्देशक थापाले गत वर्ष नै खड्कासँग लिखित सम्झौता गरेका थिए, तर फिल्मको नाम हालसम्म गोप्य राखिएको थियो ।

‘प्रेमगीत’ ले धेरै कलाकार र प्राविधिकलाई करियरको उचाइमा पुर्‍याएको स्मरण गर्दै थापाले प्रदीप खड्कालाई त्यसैको एक उदाहरण मानेका छन् । प्रेमकथामा आधारित यो फिल्मले सबै वर्गका दर्शकको मन जितेको थियो । अब ‘शुभ विवाह’ मार्फत थापा र खड्काले ‘प्रेमगीत’ को सफलतालाई उछिन्ने चुनौती सामना गर्नेछन् ।

प्रेमकथामा आधारित पारिवारिक कथानक बोकेको ‘शुभ विवाह’ ले नेपाली धर्म, संस्कृति र विवाहको महत्वलाई प्रस्तुत गर्ने निर्देशक थापाले बताएका छन् ।प्रेमकथामा अब्बल मानिने थापा र ‘लभर ब्वाई’ भूमिकामा रुचाइएका खड्काको जोडीले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । फिल्मको मुख्य अभिनेत्रीको टुंगो अझै लागेको छैन । छिट्टै सम्पूर्ण कलाकार र प्राविधिक टिम फाइनल गरी छायांकन सुरु गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्