फिल्म । राज बहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘सिटामोल’ का नयाँ पोस्टर सार्वजनिक भएका छन् । यी पोस्टरहरूले दर्शकमाझ फिल्मप्रति उत्सुकता जगाउने निर्माण टिमको विश्वास छ । पहिलो पोस्टरमा मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, र बाल कलाकार करण नेपाली भावुक मुद्रामा देखिएका छन् । दोस्रो पोस्टरमा सौगात, बेनिशा, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, र लोकेन्द्र लेखक आ-आफ्नो पात्रअनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा भने सौगात मल्ललाई मात्रै स्थान दिइएको छ, जहाँ उनी बैशाखीको सहारामा निराश भावमा हिँडिरहेको देखिन्छ ।
आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा सौगात, बेनिशा, श्री कृष्ण, जानुका, करण, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, र बाल कलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । निर्देशक तथा निर्माता सानेले ‘सिटामोल’ मार्फत नेपाली समाजमा जरा गाडेर बसेका कुसंस्कार र आम नेपालीको जीवनका समस्यालाई बिम्बात्मक रूपमा प्रस्तुत गर्न खोजेका छन् ।
‘यो फिल्मले सामाजिक समस्यालाई चित्रण गर्दै दर्शकको मन जित्ने विश्वास लिएका छौं’, निर्देशक सानेले भने । तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा बनेको यो फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल, र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता छन् ।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई रंग संयोजन, मुकेश शाहको साउन्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, र विकास तामाङ तथा धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन छ । फिल्मको छायांकन दिव्य सुवेदीले गरेका छन् ।










