फिल्म । साउथ सुपरस्टार रजनीकान्त, जसलाई ‘थलाइवा’ भनेर पनि चिनिन्छ, उनको २०२३ को फिल्म ‘जेलर’ ले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको थियो । यस सफलताबाट उत्साहित भएर अब ‘जेलर’ को सिक्वेल बन्ने भएको छ र यो फिल्म यही वर्षको डिसेम्बर ३१ मा विश्वभर रिलिज हुने घोषणा गरिएको छ ।
‘थलाइवा’ को यो फिल्मले पनि नयाँ कीर्तिमान बनाउने संकेत ‘जेलर २’ को शानदार टिजरले दिइसकेको छ । पोङ्गल र मकर संक्रान्तिको अवसर पारेर गएको जनवरी १४ मा टिजरमार्फत फिल्मको घोषणा गरिएको थियो । टिजर रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको थियो र रजनीकान्तको दमदार अवतार देखेर फ्यानहरू फेरि एकपटक ‘जेलर’ को रूपमा उनलाई हेर्न आतुर देखिएका छन् ।
नेल्सन दिलीप कुमारको निर्देशनमा बनिरहेको ‘जेलर २’ मा दर्शकहरूले यसपटक पनि उत्कृष्ट एक्सन र थ्रिलर दृश्यहरू देख्न पाउनेमा कुनै शंका छैन ।फिल्मको छायांकन चेन्नईमा मार्च ९ देखि सुरु भएको छ र अब छिट्टै नै प्याकअप भएर पोस्ट-प्रोडक्सनको काम सुरु हुने बताइएको छ ।
‘जेलर २’ को कलाकारहरूको कुरा गर्दा, रजनीकान्तसँगै बालकृष्ण उर्फ बलैया, मिर्ना मेनन, शिव राजकुमार, मोहनलाल, फहद फासिल, राम्या कृष्णन, योगी बाबु लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ । फिल्ममा एसजे सूर्या पनि विशेष भूमिकामा देखिनेछन् ।
‘जेलर २’ मा रजनीकान्त मुख्य नायकको भूमिकामा देखिने भए पनि फिल्ममा खलनायक को हुने भन्ने विषयमा पनि फ्यानहरू उत्तिकै उत्सुक छन् । खबर अनुसार, फिल्ममा मुख्य खलनायकको भूमिका फहद फासिलले निभाउन सक्ने अनुमान गरिएको छ । फहद यसअघि रजनीकान्तसँग फिल्म ‘वेट्टियान’ मा पनि देखिएका थिए ।
‘जेलर’ को पहिलो भाग २०२३ मा रिलिज भएको थियो र यसले साउथ फिल्म इन्डस्ट्रीमा ठूलो सफलता हात पारेको थियो । यो फिल्म रजनीकान्तको करियरको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको थियो । यस्तो अवस्थामा, फ्यानहरू ‘जेलर २’ को उत्सुकतापूर्वक पर्खिरहेका छन् र निर्माताहरू पनि यस फिल्मले बक्स अफिसमा ठूलो सफलता हात पार्नेमा आशावादी छन् ।












