‘द्वन्द्वका दृश्यमा सम्झौता गरिएको छैन’ : सुशील

फिल्म । आउँदो फागुन २९ देखि प्रदर्शन हुने फिल्म ‘आउट ल : दफा २१९’ को चर्चा ट्रेलर सार्वजनिक भएदेखि नै बढिरहेको छ । विशेषत फिल्ममा देखाइएको एक्सनको दृश्यले दर्शकको ध्यान तानेको छ । नेपाली फिल्ममा एक्सनलाई महत्व दिएर चाहिने बजेट खर्च गरिएको फिल्मले एक्सनप्रेमी दर्शकलाई हलमा ल्याउने विश्वास निर्माण पक्षको छ ।

अभिनेता सुशील श्रेष्ठ यसै फिल्ममार्फत चार वर्षपछि दर्शकसँग भेटघाट गर्दैछन् । उनले फिल्मलाई राम्रो बनाउन निर्माण पक्ष र आफ्नो तर्फबाट कुनै सम्झौता नगरिएको बताए । आज यहाँ दरबारमार्गमा रहेको एक रेस्टुरेन्टमा फिल्म ‘आउट ल : दफा २१९’ को विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता श्रेष्ठले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोगमा एक्सन दृश्यलाई तयार गरिएको बताए ।

‘हामीले सक्दो मेहनत गरेर एक्सन तयार गरेका छौँ । हामीसँग सिमितता भएपनि मेहनतले यसलाई अन्तर्राष्ट्रियस्तरको बनाएको छ । यसले एक्सन फिल्मको ट्रेण्डलाई चेन्ज गर्ने विश्वास छ । हलमा समय र पैसा खर्चेर आउनुहुने दर्शकलाई भरपुर मनोरञ्जन फिल्म दिनेछ’, अभिनेता श्रेष्ठले भने ।

उनले फिल्मको एक्सन दृश्यकै क्रममा हातको औला भाचिएको, आगोको दृश्य खिच्दा भोगेको जोखिमको विषयमा समेत चर्चा गरे । आफ्नो पात्रलाई जीवन्त बनाउन उनले प्रशिक्षण लिएका थिए ।

‘एउटा अभिनेताले गर्नुपर्ने मेहनतमा कमी गरेको छैन । निर्माताले लगानीमा सम्झौता गरेका छैनन्, निर्देशकले पनि समय दिएर काम गरेका छन् । यो हामी सबैको प्यासनले बनेको फिल्म हो । नाफा वा घाटा हेरेको भए फिल्म बन्न गाह्रो थियो’, उनले भने ।

दफा २१९ कै विषयलाई केन्द्रमा राखेर फिल्मको विषय तयार गरिएको निर्देशक विक्की महर्जनले बताए । उनले बनिरहेका नेपाली फिल्मको तुलनामा भिन्नता ल्याउन एक्सन विधामा फिल्म तयार गरेको बताए । उनका अनुसार द्वन्द्वको एउटा दृश्यलाई खिच्न चालिस लाख रुपैयाँ लागेको छ ।

फागुन २९ गतेदेखि प्रदर्शन हुने फिल्मलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रुपमा पटकथा तयार गरेको फिल्ममा नविन गुरुङले छायांकन, साहिल खानले सम्पादन गरेका छन् । फिल्ममा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

कमेन्ट गर्नुहोस्