प्रदीपलाई ‘सुपरस्टार’ को ट्याग

फिल्म । अभिनेता प्रदीप खड्का अहिले खोजिने अभिनेता मध्येका एक हुन् । यो वर्ष उनको दुई फिल्म ‘एक्टर: टेक वन’ र ‘पिताम्बर’ प्रदर्शनमा आउदैछ । महंगा कलाकार भनेर चिनिएका अभिनेता खड्कालाई निर्माण पक्षले ‘सुपरस्टार’ को ट्याग दिएको छ । अर्थात उनमा ‘इनिसियल’ व्यापार गर्नुपर्ने दबाब बढ्दो छ । विशेषत फिल्मको सफलता वा असफलता अभिनेता खड्कासँग नै जोडिने गर्छ ।

अभिनेता खड्कालाई झन्डै देश वर्ष पर्खिएर बनेको फिल्म ‘एक्टर: टेक वन’ मा आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला लगायतका कलाकार पनि छन् । यद्यपि यो फिल्म चलाउने दायित्व अभिनेता खड्कामै छ भन्दा फरक नपर्ला । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले आफूले नयाँ मेकर्ससँग काम गर्ने गरेको बताएका छन् ।

‘म नयाँ हुँदा कसैले विश्वास गरेर नै आज यहाँ आएको हुँ । त्यसकारण म नयाँसँग काम गर्न रुचाउछु, आउँदो केही फिल्म पनि नयाँ निर्देशकसँग गर्दैछु’, अभिनेता खड्काले भने ।

यसपटक उनले नयाँ निर्देशक राजन भुसालसँग काम गरेका छन् । सन् २०२५ को सुरुआती महिनामा दर्शक माँझ पुग्ने फिल्मले अभिनेता खड्कालाई सफल बनाउँछ या असफल ? यसले पनि उनको आगामी यात्रा तय गर्न निर्देशन गर्नेछ । साथै, उनले निर्माताबाट पाएको ‘सुपरस्टार’ को ट्यागको शाख पनि बचाउनु पर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्