फिल्म । अभिनेता दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी एक अनटाइटल फिल्मका लागि सहकार्य गर्ने तय भएको छ । बुधबार यी दुई फिल्मकर्मीले लिखित सम्झौता गर्दै यसअगाडि भएको हल्लालाई सत्यता दिएका हुन् । न्यौपानेको अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा गिरीको शीर्ष भूमिका हुनेछ ।
निर्माता न्यौपानेले चलचित्र विकास बोर्डबाट यसअघि ‘जेरी’ र ‘फनफनी घुमेर’ शीर्षकमा निर्माण इजाजत लिएका छन् । तर, गिरीसँग गर्ने भनिएको फिल्म यी दुबै शीर्षकमा नबन्ने न्यौपानेले बताए । यसअगाडि उनले निर्माण गर्ने भनिएको ‘लोकल हिरो’ शिर्षक समेत चर्चामा थियो । यद्यपि यसबारे पनि निर्माता न्यौपानेले केहि खुलाउन चाहेनन् ।
‘हामी प्रारम्भिक चरणमा छौं । स्क्रिप्टको काम भैरहेको छ’ न्यौपानेले भने, ‘कथा मनपरेको छ । धेरै कुरा टुंगो लाग्न बाँकी छ ।’ शीर्षक, निर्देशक र बाँकी कलाकार तय नभैसकेको यो फिल्मको छायांकन आगामी बैशाख वा जेठमा गर्ने तयारी छ ।
दीपकसहित ‘छक्कापञ्जा’ श्रृंखलाका सदस्यहरू केही समय सिरिजबाहिरका फिल्ममा ब्यस्त हुने तयारी छ । सोही योजनाअनुसार दीपकले यो फिल्म साइन गरेका छन् भने केदार घिमिरे अनन्या फिल्म्सकै अहिलेको फिल्म ‘जेरी अनटप’ लगायतमा ब्यस्त छन् ।