
फिल्म । चलचित्र विकास बोर्डले फिल्मसँग जोडिएका विभिन्न संघसंस्थासँग छलफल गरेर फिल्म क्षेत्रको नाम ‘सिनेमान्डु’ राख्ने निर्णय गरेसँगै यसको विरोध भएको छ । बोर्डले सूचना तथा संचार मन्त्रालयमा यो नाम पठाउनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि नेपाली फिल्म क्षेत्रले नयाँ नाम पाउनेछ । तर, विरोध नामको नभई नाम राख्ने विषयमै भएको हो । बोर्डले गर्नुपर्ने धेरै काम भएता पनि त्यसलाई छाडेर आफ्नो कार्यकाल सकिने बेलामा नचाहिदो काम गरेको भन्दै फिल्मकर्मीले नै अध्यक्ष केसीको विरोध गरेका छन् ।
चलचित्र विकास बोर्डले गर्नुपर्ने थुप्रै काम हुँदाहुँदै नाम राख्ने विषयमा सक्रियता देखाएको भन्दै पनि आलोचना भइरहेको छ । त्यसो त अध्यक्ष केसी बोर्डको अध्यक्ष भएपछिका एकपछि अर्को विवादमा पर्दै आएका छन् । केसी बोर्डको अध्यक्ष हुँदै गर्दा फिल्म क्षेत्रको समस्या नजिकबाट बुझेको भन्दै फिल्मकर्मीले ठुलै आस राखेका थिए । तर उनको कार्यकाल राम्रो कामले भन्दा पनि बढी विवादको कारणले चर्चा भइरहेको छ ।
समीक्षक तथा लेखक सामीप्यराज तिमल्सिनाले नामलाई लिएर सामाजिक सञ्जालमा बोर्डको कार्यप्रति आपत्ति जनाएका छन् । ‘दुनियाँलाई नचाहिने अनि हामीलाई मात्र बेग्लै नाम किन चाहिने होला ? नेपालको चलचित्र उद्योगलाई नेपाली चलचित्र उद्योगभन्दा नमिलेको के छ ? बुझाइपाउँ त ?’, उनले लेखेका छन् ‘बोर्डले वाहियात काम गरेर कीर्तिमान नै कायम गरेको छ ।’

त्यस्तै ‘द रेड सुटकेट’ र ‘ऐना झ्यालको पुतली’का निर्माता रामकृष्ण पोखरेलले फेसबुकमा स्ट्याटस लेख्दै कार्यालय सहायकको जति पनि ‘भिजन’ नभएका व्यक्तिलाई संघ–संस्थाको नेतृत्वमा निर्वाचित वा मनोनीत गर्दाको प्रतिफल भन्दै कटाक्ष गरेका छन् । फिल्म क्षेत्रको नाम राख्न भएको सहमति असक्षम नेतृत्वको लाजमर्दो कार्य रहेको बताउँदै उनले यसको सबैले विरोध गर्नुपर्ने धारणा राखेका छन् ।
अभिनेता कृष्ण मल्लले यो कसको दिमागको उपज हो ? भन्दै नाम प्रति प्रश्न गरेका छन् । उनले नाम के र कसका लागि जरुरी ? रहेको समेत उल्लेख गरेका छन् ।
