पर्दा पछाडिका हिरोलाई प्रोत्साहन गर्दै ‘मनसरा’

फिल्म । एकल महिलाको सङ्घर्षमा आधारित फिल्म ‘मनसरा’ गत शुक्रबारदेखि नेपालसहित विश्वभरका हलमा प्रदर्शनरत छ । फिल्म हेरेका दर्शकमार्फत बलियो ‘वर्ड अफ माउथ’ बटुलिरहेको फिल्मका निर्माण समूहले छायाँमा रहेका विभिन्न क्षेत्रमा उर्जाशील व्यक्तिलाई प्रोत्साहन गरिरहेका छन् ।

गत वुधवार सम्पन्न प्रिमियर समारोहमा छायांकनमा उत्कृष्ट काम गरेवापत दुई प्राविधिकलाई सम्मान गरेको ‘मनसरा’ टिमले शनिवार सम्पन्न नेपाल र वेस्ट इन्डिज ए बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो ।

फिल्म र खेलकुद बीच एकाअर्काको प्रवर्द्धनमा सघाउने उदेश्यले सुरू गरिएको शाक्र्य अन्तर्गत ‘मनसरा’ टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ । आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने उदेश्यले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माण शैलेन्द्रध्वज कार्कीले बताए ।

‘हामीले पर्दा पछाडि रहेर कार्य सम्पन्न गर्न मेहनत गर्नेलाई भुल्नु हुदैन । उनीहरुको कामलाई प्रोत्साहनको आवश्यकता पर्छ भन्ने विषयसँग म आफैँ प्राविधिक भएकाले पनि जानकार छु । त्यसकारण हामीले कबड्डी फिल्म्समार्फत ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेका हौँ’, निर्माता तथा छायाँकार कार्कीले भने ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘मनसरा’ मा अभिनेत्री मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।

कमेन्ट गर्नुहोस्