विशेष प्रदर्शनीमा रुचाईयो ‘बगान’

फोटो सौनाज्य : सुरेन्द्र थापा

फिल्म । मंगलवार साँझ काठमाडौँमा आयोजित विशेष प्रदर्शनीमा फिल्म ‘बगान’ ले तारिफ पाएको छ । दर्शक झैँ विशेष प्रदर्शनीमा सहभागी भएका कलाकर्मी, राजनीतिज्ञले यसको प्रसंशा गरेका हुन् । एकल आमाको जीवन, संघर्ष र शिक्षाको महत्वलाई देखाईएको ‘बगान’ मन परेको प्रतिक्रिया पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दिईन् ।

उनले फिल्म हेरेपछि सञ्चारकर्मीलाई राम्रो बनेको छोटो प्रतिक्रिया दिएकी हुन् । हलमै पुगेर धेरै समयपछि उनले फिल्म हेरेकी हुन् । आयोजित विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित फिल्म ‘बगान’ का निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्ले लगायत सहभागी थिए ।

उपस्थित सम्पूर्णले कथावस्तु छनौटको तारिफ गरे । साथै अभिनेत्री करिश्मासँगै निर्देशक खनाल र नव अभिनेत्री कार्कीको अभिनयको प्रसंशा गरे । अभिनेता केसीले अभिनेत्री कार्कीलाई सम्भावना बोकेको पात्र बाच्ने अभिनेत्रीको रुपमा तारिफ गरे ।

पहिलो निर्देशकीय फिल्मले आगन्तुकमार्फत तारिफ पाउँदा निर्देशक खनाल उत्साहित थिए । ‘हाम्रो उदेश्य सामाजिक विषयलाई पर्दामार्फत समाजसम्म पुर्‍याउने थियो । यसमा हामी सफल भएका छौं । यसको व्यावसायिक लाभ पनि प्राप्त भईरहेको छ’, निर्देशक खनालले भने ।

फिल्ममा नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारले समेत अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको फिल्ममा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङकन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । प्रदर्शनका लागि फिल्म वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

वितरण कम्पनि रीच इन्टरटेनमेन्टका अध्यक्ष करण श्रेष्ठले ‘वर्ड अफ माउथ’ का कारण दर्शक बढिरहेको प्रतिक्रिया दिए । उनले भने,’यसको व्यापार अफ डेमा समेत बढिरहेको छ । दर्शकले दिनुभएको प्रतिक्रियाले हलमा भिड बढेको छ । यसको व्यापार राम्रोसँग बढिरहेको छ ।’ उनले आउँदो दिनमा व्यापार झनै बढ्ने बताए ।

कमेन्ट गर्नुहोस्