फिल्म । नेपाली फिल्मको लागि नेपालपछि राम्रो बजार अष्ट्रेलिया र अमेरिका मानिन्छ। ती देशमा फिल्मको प्रदर्शन अधिकार विक्री भएकै कारण केही फिल्मले मुनाफा कमाएका छन्। रेस्टुरेन्ट, सामुदायिक भवन हुँदै नेपाली फिल्म अहिले हलमा प्रदर्शन हुन्छ। अष्ट्रेलियामा पछिल्लो समय प्रदर्शन भईरहेको ‘प्रसाद २’ हलमै प्रदर्शन भईरहेको छ। अन्य विदेशी फिल्म झैँ प्रदर्शन हुनु नेपाली फिल्मको लागि सुखद रहेको स्थानीय प्रदर्शक नमस्ते इन्टरनेटमेन्टका देव कार्कीले जानकारी दिनुभयो।
‘नेपालमा प्रदर्शन भइरहेकै शैलीमा अष्ट्रेलियामा प्रदर्शन भएको छ। यहाँ आफूलाई पायक पर्ने समयमा नेपाली फिल्म पनि हलमा टिकेट लिएर हेर्न सकिन्छ। प्रसाद २ को सोहरूमा दर्शकको भिड बढिरहेको छ’, प्रदर्शक कार्कीले भन्नुभयो। उहाँले गोर्खे इन्टरटेनमेन्टका रन्जित राज वन्तसँगको सहकार्यमा ‘प्रसाद २’ अष्ट्रेलियामा प्रदर्शन गर्नुभएको हो।
त्यसो त केही वर्षयता अष्ट्रेलियामा हलमै फिल्म प्रदर्शन हुने गरेका छन्। तर ती व्यक्तिगत रूपमा हल भाडामा लिएर देखाइने गरिएको थियो। त्यसमा प्रदर्शककै व्यावस्थापनमा फिल्म प्रदर्शन हुन्छ। त्यता सोमा सामान्य भन्दा बढी टिकेटको रकम तोकिएको हुन्छ। ‘प्रख्यात हलिउड र बलिउडका फिल्मसँगै नेपाली फिल्म बक्सअफिसमा प्रदर्शन हुनु हाम्रो लागि गौरवको विषय हो। नेपाली फिल्म कला, संस्कृतिको प्रवर्द्धन गर्न हामी सक्दो मेहनत गरिरहेका छौं। हाम्रो प्रयासलाई सफल बनाउन आग्रह गर्दछु’,प्रदर्शक कार्कीले भन्नुभयो।
उहाँका अनुसार अष्ट्रेलियाको इभेन्ट सिनेमा, होएट्स सिनेमा, युनाइटेड सिनेमा क्रेगीबर्न, युनाइटेड सिनेमा एल्डोराडो र युनाइटेड सिनेमास कोलारोयमा फिल्म हेर्न सकिन्छ। यसअगाडी ‘प्रेम गीत ३’ हिन्दी भाषामा अष्ट्रेलियाको बक्सअफिसमा प्रदर्शन भएको थियो। सुशील पौडेलको लेखन रहेको ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।
सुभषा थापाको प्रस्तुतिमा तयार भएको फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको यो गीतमा विक्रम स्वारको कोरियोग्राफी छ । सुदर्शन बस्नेतको लगानीमा तयार भएको ‘प्रसाद’ को सिक्वेलको रुपमा तयार भएको फिल्मलाई सुदर्शनले समाजमा देखिएको जातिय विभेदमाथि निर्माण गरेका छन् ।










