रामकृष्णको स्वरमा ‘आमाको ममता’

सङ्गीत। गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।नक्षत्र प्रोडक्शनले निर्माण गरेको म्यूजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा बुवा र उनिहरुसँग पनि विछोड भएपछि गर्नुपरेको संघर्ष देखाईएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुनिल थापा, हिउँवाला गौतम, गौरब पहारी, श्रीदेव बिएल र दियान गौतमको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक ढकालले यस गीतले आफ्नो जीवनको केहि अंश प्रस्तुत गरेको बताए । उनले भने, ‘म पनि संगीत क्षेत्रमा निकै संघर्ष गरेर आएको हुँ । म जुन समय र परिवेशमा यस क्षेत्रको लागि घर नै छोडेर आएँ त्यहाँ मलाई कर्म दिने गोपाल कर्माचार्य भेटिनुभयो । अहिलेको जस्तो सहज परिस्थितीमा समेत कलाकार हुन निकै संघर्ष गर्नुपर्ने अवस्था छ भने मैले त्यो समयमा कति संघर्ष गर्नुपरेको होला ?”

निर्माता तथा गीतकार सुवेदीले बाल्यकालमा आफुले देखेको सत्य घटनालाई आधार मान्दै यो गीत तयार गरेको बताए । भिडियो निर्देशक विधान कार्कीले समाजमा देखिने घटनालाई लिएर म्युजिक भिडियो बनाएको बताए । उनले जन्म दिने मात्र नभई कर्म दिने अभिभावक पनि उत्तिकै महत्वपूर्ण हुन्छन भन्ने सन्देश दिन खोजेको बताए । भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन विकास दाहाल हुन् ।

कमेन्ट गर्नुहोस्