हरर फिल्मकी सुन्दरी

फिल्म । नेपालमा हरर जनरको फिल्मले राम्रो दर्शक पाउने गरेका छन् । विगतमा प्रदर्शन भएका फिल्महरूले इनिसियल रूपमा गरेको व्यापारले पनि नेपालमा हरर फिल्मको भविष्यलाई प्रस्ट्याउछ । विगतमा हरर जनरको फिल्ममा काम गरिसकेका अभिनेत्रीहरूको अभिनय रहेको फिल्म ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’ पुस २२ मा प्रदर्शन हुँदैछ ।

यसमा ऋचा शर्मा, बेनिशा हमाल र प्रियंका कार्की मुख्य भूमिकामा छन् । यी तीनै अभिनेत्रीले विगतमा हरर फिल्ममा काम गरिसकेका छन् । ‘यसको माहोल नै डर लाग्दो थियो । हामीले छायांकन नै एक अपार्टमेन्टमा गरेका थियौँ’, अभिनेत्री शर्माले भनिन्,’फिल्म राम्रो बनेको छ । विगतमा मैले यस्तै फिल्म निर्माण गर्न खोजेकी थिएँ ।’ अभिनेत्री शर्माले फिल्मको तारिफ गर्दा अर्की अभिनेत्री कार्कीले भने छायांकनको समय सम्झिन ।

‘म त्यो समयमा नै गर्भवती थिएँ । यद्दपि दृश्यहरू भने लड्ने, झग्डिने किसिमका थिएँ’, अभिनेत्री कार्कीले भनिन्,’आफ्नो बच्चासँगै पात्रलाई न्याय गरेर छायांकन गरे । यसले हरर मन पराउने दर्शकलाई निराश बनाउदैन ।’ फिल्ममा बेनिशा छिन् । उनले यसअगाडी ‘घर’ नामाक फिल्ममा काम गरिसकेकी छिन् । ‘निर्देशकले फिल्मलाई राम्रो बनाउन कुनै सम्झौता गरेका छैनन् । मैले पनि पाएको भूमिकालाई न्याय गरेकी छु’, अभिनेत्री हमालले भनिन् । अभिनेत्री हमाल झैँ अभिनेत्री शर्माले ‘सुनकेशरी’ र अभिनेत्री कार्कीले आवरण, माला लगायतका हरर फिल्ममा काम गरिसकेकी छिन् ।

मर्ण जेम्स र यश सैनी निर्देशित फिल्ममा मर्ण र यशकै कथा/पटकथा रहेको छ । यसमा आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।फिल्ममा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको फिल्ममा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

कमेन्ट गर्नुहोस्