देश । केन्द्रीय तथ्यांक विभागले २०७८ मा सञ्चालित जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ । नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको तथ्यांकमा उल्लेख छ । वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । कूल जनसंख्यामा महिलाको जनसंख्या १ करोड ४९ लाख एक हजार एक सय ६९ अर्थात् ५१.०४ प्रतिशत र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार तीन सय ११ अर्थात् ४८.९६ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।










