संगीत । गीतमा मनछुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतमा संगीतकार गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।
सार्वजनिक भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफीरहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ । माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।












