रेकर्ड कायम गर्दै इटाली सेमिफाइनलमा

खेलकुद । अपराजित यात्रामा रहेको देश इटालीले त्यसलाई निरन्तरता दिदै युरो कप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान सम्पन्न क्वार्टरफाइनलको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो । यो जितसंगै इटालीले ३२ खेलमा निरन्तर अपराजित यात्रा गरिरहेको हो ।

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २७ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ। अपराजित खेल संख्याको रेकर्ड भने ब्राजिल र स्पेनको संयुक्त नाममा छ । दुवै टिमले लगातार ३५ खेलसम्म पराजय भोगेका थिएनन्। दोस्रो स्थानमा अब इटाली पुगेको छ । इटालीले अर्जेन्टिनालाई पछि पार्‍यो । अर्जेन्टिनाले सन् १९९१ देखि १९९३ को बीचमा ३१ खेलमा पराजय भोगेको थिएन।

बेल्जियमविरुद्ध भएको खेलमा इटालीले पहिले अग्रता लिएको थियो । खेलको ३१ मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । भेराटीले दिएको पासमा मिडफिल्डर बरेलाले बललाई गोलपोस्टको दिशा दिएका थिए। खेलको ४४ मिनेटमा इटालीले अग्रता दोब्बर पारे । लोरेन्जो इनसाइनले इटालीका लागि दोस्रो गोल गरे । उनले उत्कृष्ट फिनिसिङ गर्दा बेल्जिमयका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् ।

यस्तै , पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले गोल फर्कायो । पेनाल्टीमा लुकाकुले गोल गर्दा खेल २-१ को अवस्थामा आयो । डि लोरेन्जोले बेल्जियमका डोकुलाई तानेपछि भिएआरमार्फत पेनाल्टी दिइएको थियो । दोस्रो हाफमा बेल्जिमयले बराबरी गर्ने अवसर गुमाएको थियो । ६१ मिनेटमा लुकाकुको प्रहार विफल भएको थियो । यस्तै डोकु पनि प्राप्त अवसरमा चुके । (एजेन्सी)

कमेन्ट गर्नुहोस्