फिल्म । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली फिल्महरु ‘लाटकोसेरो’ , ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो ’ प्रतिस्पर्धाको लागि छानिएको बताएका छन् ।
महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्महरु प्राप्त भएका थिए । आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्म मध्येबाट ३१ देशका ६३ फिल्मलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो ।
फिचर फिल्म विधामा तीन फिल्म थपिएसँगै अब निफमा ६६ फिल्म देखाइने छन् । माथि उल्लेखित तीन फिल्म मध्यबाट एक फिल्मले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिल्मको एक लाख नगद पुरस्कार सहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउने छन । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ ।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । यसैगरि, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाइ ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाइ ५ सय डलर राशिको वागमती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ ।










