‘प्रहरीको हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’

देश । नेपाल पत्रकार महासंघले स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुर्व्यवहारको कडा भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । समाचार संकलन गरिरहेका अनलाइनखबरका पत्रकारद्वय रोयल आचार्य र चन्द्रबहादुर आलेलाई शुक्रबार नयाँ बानेश्वरमा प्रहरीले गरेको हातपात र पक्राउ प्रयासको महासंघले बिरोध गर्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संविधान दिवसका विषयमा जनमत लिइरहेका सञ्चारकर्मीमाथि प्रहरी निरीक्षक डिल्लीराम सापकोटा लगायतले हातपात गरेका थिए । ‘स्वतन्त्र रूपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि भएको ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तिमा उल्लेख छ । साथै महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाधरूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै , बबरमहलमा सिराहा, लहानका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्यौपाने सहितको टोलीले निर्घात कुटपिट गरेका थिए । साथै, प्रहरीले माइतीघरमा मनिष श्रेष्ठलाई कुटपिट गरेर गम्भिर घाइते बनाएको छ । प्रहरीको यस्तो किसिमको शैलीको विरोध यतिबेला सर्वत्र भइरहेको छ ।

कमेन्ट गर्नुहोस्