ज्ञानेन्द्रको ‘झिँगेदाउ’ मा आँचल पनि

फिल्म । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशनमा फर्किने भएका छन् । दशक अगाडी व्यवसायिक सफल फिल्म निर्देशकको रुपमा चिनिने ज्ञानेन्द्र केहि समय यता भने निर्देशनबाट टाढीएका थिए । तर अब उनले निर्देशनको तयारी गरिरहेका छन् । केहि समय यता लेखक प्रदीप भारद्वाजसंग स्क्रिप्टमा काम गरिरहेका छन् ।

‘झिँगेदाउ’ नाम राखेर काम गरिरहेका ज्ञानेन्द्रले कलाकारहरु चयन गरिरहेका छन् । उनले मुकुन भुषाल र केकी अधिकारीपछि यस प्रोजेक्टमा आँचल शर्मालाई इन्ट्री गराएका छन् । गत बुधबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा केकी र आँचलको प्यारालल भूमिका रहेको निर्देशक देउजाले बताए । उनका अनुसार, फिल्म महिला केन्द्रित छ । फिल्ममा अन्य २ कलाकार पनि मुख्य भूमिकामा फाइनल भइसकेका छन् ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ । कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक स्वयंले निर्माण गर्दैछन् । फिल्मको छायाँकन सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा हुनेछ । विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् ।

फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्र फिल्मको कथामा सुहाउने भएकै कारण मुकुन र केकीलाइ अनुबन्ध गरेको बताए ।

कमेन्ट गर्नुहोस्